रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा रात्रि आठ बजेर ४० मिनेटको समयमा घरमाथिबाट पहिरो झरेको हो ।
सोही ठाउँ बस्ने कमलबहादुर पुन मगर र अन्य ६ वटा घर गोठहरु पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। पहिरोमा मृत्यु हुनेमा थबाङ गाउँपालिका-५ बस्ने वर्ष ६० का कमलबहादुर पुन मगर र वर्ष १८ की शान्ती पुन मगर रहेका छन् ।
२२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको जनाइएको छ ।
घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । अन्य व्यक्ति पनि पहिरोले पुरिएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।















