नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री बालेन शाहलाई भेटेर चार वटा माग राखेका छन्। रोल्पामा अविरल वर्षापछि आएको बाढी पहिरोमा जनधनको क्षति भएपछि सोही विषयमा सरकारको ध्यानाकर्षण गराउन नेता पुनले शुक्रबार बिहान प्रधानमन्त्री बालेन शाहलाई भेटेका हुन्।
‘रोल्पामा निरन्तर भइरहेको विपद्बाट भएको जनधनको क्षतिबारे आज सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूसँग भेट गरी जिल्लाको जनप्रतिनिधिका रूपमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु’, पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्ला दिनमा आएको बाढी तथा पहिरोबाट रोल्पामा धेरै मानिसको मृत्यु, बेपत्ता र घाइते भएका छन् । कतिपय बस्ती नै बगेका छन् । घर–आवास, पशुचौपाया तथा खाद्यान्नमा क्षति पुगेको छ भने सडक, खानेपानी, विद्यालयलगायतका सार्वजनिक संरचना भत्किएका छन् । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने कुरा राखेको छु ।’
रोल्पाको विपदसम्बन्धमा नेता पुनले प्रधानमन्त्री बालेनसमक्ष चारवटा माग राखेको पुनको सचिवालयले जनाएको छ। पुनले रोल्पाको उवा तथा भित्रीगामका पहिरोमा परी मानिसहरु अझै बेपत्ता रहेकाले खोजी तथा उद्धारलाई तीव्रता दिन र घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेका छन्। त्यस्तै बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति तथा घरबारबिहीन भएकाहरूलाई तत्काल अस्थायी आवास, राहत र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न माग गरे।
नेता पुनले क्षतिग्रस्त पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माण सुरू गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्। विशेषगरी अवरूद्ध सडक, खानेपानी विद्यालय लगायत सार्वजनिक संरचना तत्काल सञ्चालनमा ल्याउन उनले माग गरेको नेता पुनको सचिवालयले जनाएको छ। पुनले रोल्पाको भौगोलिक विकटतालाई ध्यानमा राख्दै थप विपद्का बेला तत्काल उद्धार गर्न आवश्यक उद्धार टोली तथा हेलिकोप्टर तयारी अवस्थामा राख्नुपर्ने पनि प्रधानमन्त्री बालेनसमक्ष माग गरेका छन्।
रोल्पाको थबाङ गाउँपालिका–५ उवामा बुधबार गएको पहिरोमा परी १० जनाको ज्यान गएको थियो। त्यसको भोलिपल्ट बिहीबार राति सुनछहरी गाउँपालिका–२ फलावाङमा गएको पहिरोमा थप तीन जनाको मृत्यु भएको छ। दुवै घटनामा केही व्यक्ति अझै बेपत्ता छन् भने केही घाइते छन् । लगातारको वर्षाका कारण घर, बस्ती, सडक, खानेपानी, विद्यालय तथा अन्य सार्वजनिक संरचनामा समेत क्षति पुगेको भन्दै पुनले विपद्को अवस्थाबारे प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री शाहले उवाको घटनामा राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइसकेको जानकारी पुनलाई गराएका थिए । बेपत्ताको खोजीलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने प्रतिबद्धता पनि उनले जनाएका छन्।
त्यस्तै, बाढी–पहिरोका कारण अवरुद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन तथा पुनःस्थापना गर्ने र जाजरकोट–रुकुम भूकम्पपछि अपनाउन लागिएको पुनर्निर्माणको ‘नेपाली मोडल’अनुसार रोल्पामा भएको क्षतिको पुनर्निर्माण गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको पुनले बताएका छन् ।
भेटमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालमगर, नेकपाका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ र सहसंयोजक कृष्ण अधिकारी पनि सहभागी थिए ।















