रिजालको ग्यासमा ठगी, झन्डै तीन लाख जरिबाना तिराइयो

Image

जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्तालाई ठगी गरेको देखिएपछि रिजालको भान्सा ग्यास उद्योगलाई पनि कारबाही गरेको छ। बुधबार बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहितको बजार अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा उद्योगमालापरबाही भेटिएको थियो ।

अनुगमन टोलीले उद्योग परिसरमा रहेका १९ वटा भरिएका सिलिण्डरहरूको तौल परीक्षण गरेको थियो। जसमध्ये एउटा सिलिन्डरमा तोकिएको भन्दा २४० ग्राम कम ग्यास फेला परेको थियो। उद्योगले म्याद गुज्रिएका दुई वटा सिलिन्डरमा समेत ग्यास भरेर बिक्रीका लागि बजार पठाउन तयारी गरेको अवस्थामा फेला पारेको थियो। म्याद नाघेका सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ ।

कम तौल र म्याद नाघेका सिलिन्डर फेला परेपछि अनुगमन टोलीले उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो। अनुगमनका क्रममा ग्यास उद्योग भने बन्द अवस्थामा थियो। यसअघि कोशी ग्यास उद्योग पनि कारबाहीमा परेको थियो।

अनुगमनका क्रममा विराटनगर महानगरपालिका– ३ मा रहेको कञ्चनेश्वर ग्यास पसल पनि कारबाहीमा परेको छ। अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षणको कार्यमा अवरोध पुर्‍याएपछि पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।