भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज नेपाल भ्रमणमा आउँदैछन्। उनी आज अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउने सेठ अहिलेसम्मकै वरिष्ठ अधिकारी रहेको बताइएको छ। उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्नुलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं बसाइँका क्रममा भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने तयारी छ।
सेठ सन् २०२६ जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भएका हुन्। उनी नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन्।
उनले सैनिक मञ्च टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति अशोकराज सिग्देलसँग दुई देशका सेनाबीचको आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गर्ने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ।
सात दशकदेखि मानार्थ महारथीको परम्परा
भारत र नेपालबीच एकअर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि चल्दै आएको नेपाली सेनाले जनाएको छ।
यसै परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्।
२७ मंसिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।















