नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती विस्तार गरिने

Image

नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्ने तथा सीमा अपराधसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने सहमति गरेका छन्।

महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीहरूको समन्वयात्मक बैठकमा हातहतियार तथा लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले जानकारी दिए।

बैठकमा सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारबारे समेत छलफल भएको थियो। दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई थप विस्तार गर्ने र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने सहमति भएको उनले बताए।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, भारतको सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया तथा सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।