बागमती प्रदेश सरकारले मातहतका प्रादेशिक कार्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ला राख्न निर्देशन दिएको छ।
भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि बागमती प्रदेश सरकारले रसुवा र नुवाकोटमा रहेका प्रादेशिक कार्यालय बिदाका दिनमा समेत सञ्चालन गर्न निर्देशन दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार परिपत्र जारी गर्दै अर्को सूचना नभएसम्म कार्यालयहरू नियमित रूपमा सुचारु राख्न भनेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै विपद् प्रतिकार्यमा जुट्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको कार्यालयका उपसचिव गोविन्द पुरीले बताए।
पत्रमा रसुवा र नुवाकोट जिल्लास्थित बागमती प्रदेश सरकारअन्तर्गतका सबै प्रादेशिक कार्यालयलाई बिदाको समयमा समेत कार्यालय सुचारु राख्न भनिएको छ। विपद्को अवस्थामा सरकारी संयन्त्रलाई निरन्तर परिचालन गरी प्रभावित नागरिकलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यालयहरू खुला राख्ने निर्णय गरिएको पुरीको भनाइ छ।
प्रदेश सरकारले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित क्षेत्रको पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।















