नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली काठमाडौं रेड्सले सर्बियाका स्टेफन ओकोसानोभिकलाई अनुबन्ध गरेको छ ।
अपोजिट हिटर ओकोसानोभिक काठमाडौं भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । उनी नेपाल आइसकेका छन् । यससँगै काठमाडौंले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । यसअघि टोलीले पाकिस्तानका सेटर अदनान खान र आउटसाइड हिटर अहमद मुस्ताफा खानलाई अनुबन्ध गरेको थियो ।
उमेर समूहमा सर्बियाको प्रतिनिधित्व गरिसकेका ओकोसानोभिकले सर्बिया, चेकिया (चेक रिपब्लिक), फ्रान्स, इजरायल, साउदी अरेबिया, ग्रिस र टर्कीका क्लबबाट खेलेका छन् ।
काठमाडौंको मुख्य प्रशिक्षकमा नृपबहादुर विक र सहायक प्रशिक्षकमा मोतिराम नेपाली छन् । सुनिल बोहरा मार्की रहेको काठमाडौंले अक्सनबाट सन्तोष राई, चिरञ्जिवी खड्का, सन्तोष विक, बलदेवसिंह धामी, जितबहादुर ढुंगेल, पुस्करसिंह धामी र दिपेश कुँवरलाई अनुबन्ध गरेको थियो । यसैगरी, टोलीले ‘ट्यालेन्ट हन्ट’बाट दिलिप विकलाई छनोट गरेको छ ।
एनभीएलको पहिलो संस्करण यही भदौ १९ गते (शुक्रबार) देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुँदै छ ।
काठमाडौंले शनिबार मधेस वारियर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।














