नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज खप्तड फाल्कोन्सले ब्राजिलका जो मौरिसियो डा सिल्भा नेटोलाई अनुबन्ध गरेको छ । अनुभवी सेटर नेटो खप्तड भित्रने तेस्रो विदेशी खेलाडी हुन् ।
योसँगै खप्तडले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । खप्तडले यसअघि बेनिनका आउटसाइड हिटर बोस्को डेटे र रुसका आउटसाइड हिटर आर्टेम किसेलेभसँग सम्झौता गरेको थियो ।
नेटोसँग ब्राजिल, इजरायल र इस्टोनियाको क्लबबाट खेलेको अनुभव छ ।
खप्तडको मुख्य प्रशिक्षकमा रुपेशकुमार विष्ट छन् । धिरोजकाजी बस्नेत मार्की रहेको खप्तडले अक्सनबाट सरोज बर्देवा, प्रेमप्रसाद गौतम, विवश थापा, इन्द्र विक, पारस बोहरा, नवराज थापामगर र नवराज धामीलाई अनुबन्ध गरेको थियो । टोलीले ‘ट्यालेन्ट हन्ट’बाट रोहित रामानन्द जोशीलाई छनोट गरेको थियो ।
एनभीएलको पहिलो संस्करण शुक्रबार (भदौ १९) देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुँदै छ ।
खप्तडले शनिबार सगरमाथा स्म्यासर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।














