एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको चुनौती दिएको छ । मलेसियाको क्लालालम्पुरस्थित वायुमास ओभलको मैदान टस जितेर पहिला ब्याटिङ गरेको साउदीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।
राम्रो सुरुवात गरेको साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । ८९ बलको सामना गरेका उनले १० चौका र दुई छक्काको मद्दतमा उत्कृष्ट ब्याटिङ गरेका हुन् । उसका लागि मुहम्मद आतिफले ३० रन जोडे । टिकेर खेलेका आतिफले ६८ बलको सामना गर्दा तीन चौका र एक छक्का प्रहार गरेका थिए । मोहम्मद हिशाम शेखले साउदीका लागि २८ रन थप्दा अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् ।
उच्चस्कोरतर्फ अगाडि बढेको साउदीलाई रोक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट हात पारे । १० ओभर बलिङ गर्दा दुई मेडनसहित १९ रन खर्चिएर उनले तीन विकेट हात पारेका हुन् । समान १० ओभर बलिङ गरेका ललितनारायण राजवंशीले तीन मेडन राख्दै २६ रन दिएर दुई विकेट हात पारे । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नौ ओभर दुई बल बलिङ गर्दै तीन विकेट हात पार्दा ४३ रन खर्चिए । शेर मल्ल र गुल्सन झाले भने एकएक विकेट हात पारे ।














