भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना मजदुरको सफल उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अष्ट्रेलियन भूगर्भशास्त्री तथा सुरुङ उद्धार विज्ञ इन्जिनियर अर्नोल्ड डिक्सले नेपालमा जारी उद्धार प्रयासलाई आफूले यसअघि कहिल्यै सामना नगरेको अवस्थाका रूपमा चित्रण गरेका छन्।
फरक–फरक स्थानमा एकैपटक भइरहेका सम्भावित उद्धारमा जोखिम र अनिश्चितता रहे पनि अझै मानव जीवन बचाउने सम्भावना जीवित रहेको भन्दै उनले उद्धारमा आशालाई अनुशासन र करुणालाई कर्ममा बदल्नुपर्ने बताएका छन्। हाल उनी नेपाली उद्धार टोलीसहित उद्धार प्रयासमा संलग्न छन्।
उनले एक्समा लेखेको भनाइको अनुवाद
अहिले नेपालमा हामी यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै भोगेको थिइनँ। यो एउटा उद्धारको कुरा मात्र होइन, एकैपटक फरक–फरक ठाउँमा भइरहेका सम्भावित उद्धारका अनेकौँ प्रयासको संग्रह हुन्। हरेक ठाउँमा आफ्नै किसिमका जोखिम छन्, अनिश्चितता छन् र अझै मानव जीवन बचाउन सकिने सम्भावना जीवत छ।
यसले मलाई भारत उत्तराखण्डको सिल्क्यारा सुरुङ उद्धारको सम्झना गराएको छ। त्यहाँ ४१ जना मानिस जमिनमुनि फसेका थिए र हाम्रासामु एउटा असम्भवजस्तै देखिने चुनौती थियो, त्यो हो उनीहरूलाई सकुशल घर फर्काउनू। हामीले त्यो परीक्षा सामूहिक प्रयासबाट पार लगायौं।
तर, सायद एउटा ठूलो परीक्षा पार गर्दैमा परीक्षा कहिल्यै सकिँदैन। कहिलेकाहीँ त्यसको अर्थ हामीलाई अझ ठूलो जिम्मेवारी सुम्पिइएको पनि हुन सक्छ।
पश्चिमा परम्पराले यसलाई ‘कर्तव्य’ भन्छ होला, सफल हुने निश्चितता नभए पनि सही ढंगले काम गर्नु हाम्रो जिम्मेवारी हो। एसियाली परम्पराले यसलाई अर्को शक्तिशाली अवधारणाबाट हेर्छ, त्यो हो धर्म।
परीक्षामा हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने मात्र होइन। बाटो झन् कठिन बन्दै जाँदा, जिम्मेवारीहरू थपिँदै जाँदा र परिणाम के हुन्छ भन्ने निश्चित नहुँदा पनि हामी सही काम गरिरहन्छौँ कि रहँदैनौँ भन्ने हो।
सिल्क्याराले मलाई एउटा कुरा सिकाएको थियो- ‘असम्भवजस्तो देखिनु’ र ‘असम्भव हुनु’ एउटै कुरा होइन।
नेपालले अहिले मलाई त्योभन्दा पनि ठूलो कुरा सिकाइरहेको छ। जब एकैपटक धेरै मानिसको जीवन हाम्रा प्रयासहरूमा निर्भर हुन्छन्, आशालाई अनुशासनमा बदल्नुपर्छ, करुणालाई कर्ममा बदल्नुपर्छ र कर्तव्य सफल हुने निश्चिततामा कहिले पनि निर्भर हुनु भने हुँदैन।
पूर्व होस् वा पश्चिम, सिद्धान्त एउटैजस्तो लाग्छ।
हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र हाम्रो मूल्यांकन हुँदैन। हामीले हार मान्न नखोजेका, छोडेर जान नमानेका सासले पनि हाम्रो मूल्यांकन गर्छन्।














