यति सस्तो, यति छिटो नारासहित ‘यतिडिल डटकम’ सञ्चालनमा

Image

नेपालको डिजिटल व्यापार तथा ई–कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित स्वदेशी लगानीमा स्थापित बहु–क्षेत्रीय एक्सप्रेस ई–कमर्स प्लेटफर्म Yetideal.com औपचारिक रूपमा सञ्चालनमा आएको छ। ‘यति सस्तो, यति छिटो’ भन्ने नारासहित सुरु भएको प्लेटफर्मले गुणस्तरीय सामग्री किफायती मूल्यमा उपलब्ध गराउँदै ग्राहकलाई छिटो र भरपर्दो डेलिभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

यतिडिल डटकममा इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर सजावट, फार्मेसी तथा फिटनेस सामग्री, स्टेशनरी, खेलौना र खेलकुद सामग्रीलगायत विभिन्न श्रेणीका उत्पादनहरू उपलब्ध हुनेछन्। नेपाली उत्पादन तथा स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्लेटफर्ममा विशेष ‘मेड इन नेपाल’ श्रेणीसमेत राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाभित्र २४ घण्टाभित्र र उपत्यकाबाहिरका प्रमुख स्थानहरूमा ४८ घण्टाभित्र सामान डेलिभरी गर्ने व्यवस्था गरिएको छ। आफ्नै लजिस्टिक नेटवर्क तथा विश्वसनीय डेलिभरी साझेदारमार्फत सेवा सञ्चालन गरिने कम्पनीको भनाइ छ।

व्यवसाय विस्तार तथा व्यवस्थापन परामर्शका लागि कम्पनीले सिंगापुरस्थित Neovyn Pte Ltd सँग रणनीतिक साझेदारीसमेत गरेको जनाएको छ। उक्त सहकार्यबाट अन्तर्राष्ट्रिय बजार तथा व्यवस्थापनको अनुभव उपयोग गर्दै नेपालको डिजिटल वाणिज्य क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, विदेशमा रहेका नेपाली तथा नेपालप्रेमी अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गर्दै यतिडिल डटकममा स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली एकीकृत गरिएको कम्पनीले जनाएको छ। यसबाट विदेशमा रहेका ग्राहकले नेपालमा रहेका आफन्त तथा परिवारजनका लागि सामग्री, उपहार तथा आवश्यक वस्तु सहज रूपमा अर्डर गर्न सक्नेछन्।

सुरुवातमै विभिन्न अफर

प्लेटफर्मले सञ्चालनको सुरुवातसँगै ग्राहकका लागि विभिन्न अफरसमेत सार्वजनिक गरेको छ। नयाँ प्रयोगकर्ताले दर्ता गर्दा रु. १०० बराबरका यतिडिल पाेइन्ट्स प्राप्त गर्नेछन् भने प्रत्येक खरिदमा निःशुल्क उपहार उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यसैगरी, निश्चित रकमभन्दा बढीको खरिदमा नेपाल फुटबल जर्सी, गुणस्तरीय छाता तथा फिफा आधिकारिक फुटबल उपहारस्वरूप प्रदान गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ‘हात माथि हात, बाढीपीडितलाई यतिडिलको साथ’ अभियानसमेत घोषणा गरेको छ। अभियानअन्तर्गत २०२६ नोभेम्बर १५ सम्म प्लेटफर्ममार्फत हुने सम्पूर्ण कारोबारबाट प्राप्त रकमको २ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यतिडिल डटकमलाई जैन ग्रुपको अनुभव, आपूर्ति सञ्जाल, ग्राहक सेवा तथा लजिस्टिक क्षमताले थप सशक्त बनाएको छ। गुणस्तर, गति र किफायती मूल्यलाई प्राथमिकतामा राख्दै नेपालको ई–कमर्स क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय तथा ग्राहकमैत्री बनाउने लक्ष्यका साथ प्लेटफर्म सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।