भोटेकोशी बाढीबारे उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतले गरे छलफल

Image

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरूबीच भदौ १० गते गएको विनाशकारी बाढीका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।

आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, उद्धारमा संलग्न नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकहरूको पहिचानका लागि सहयोग पुर्‍याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति उनले आभार व्यक्त गरे । चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि पनि धन्यवाद व्यक्त गरे ।

हिमनदी, जलविज्ञान तथा मौसमसम्बन्धी वास्तविक समयको तथ्याङ्क उपलब्ध गराएकोमा चीन सरकारप्रति धन्यवाद व्यक्त गर्दै उपराष्ट्रपति यादवले यस किसिमको आदान–प्रदान भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले भने, ‘भोटेकोशी बाढीले जीवन, सम्पत्ति मात्र नभई हजारौँ परिवारको सपना, संस्कृति तथा प्राकृतिक सम्पदालाई समेत प्रभावित बनाएको छ । पूर्वाधार पुनर्निर्माण सम्भव भए पनि प्रभावितहरूको विश्वास पुनःस्थापित गर्न दशकौँ लाग्न सक्छ ।’

यस विपत्तिले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गर्दै उनले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, परम्परागत मित्रता तथा आपसी सम्मानमा आधारित रहेको र नेपाल ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा राजदूत चाङले बाढीपहिरोले गरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै प्राकृतिक विपत्ति नेपाल र चीनको साझा विषय भएको बताए ।

‘नेपाललाई यस संकटको घडीमा चीनले आर्थिक, स्वास्थ्य र मानवीय सहयोग गरेको छ,’ उनले भने, ‘नेपालमा पुनर्निर्माणमा चीनको ठूलो सहयोग र समर्थन रहने छ । नेपालबाट सहयोग सूची प्राप्त भएबमोजिम सहयोग गर्न चीन तयार छ । यस संकटको घडीबाट नेपाल छिट्टै बाहिर निस्किने छ ।’

राजदूत चाङले बाढीपहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीका लागि एक करोड ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा चीन सरकारले गरेको जानकारी गराए ।

साथै चीनको ७७औँ स्थापना दिवसको अवसरमा उपराष्ट्रपति यादवले चीनका उपराष्ट्रपतिलाई हार्दिक बधाइ दिएका थिए ।