लगातार तेस्रो हारसँगै नेपालको पुरुष कबड्डी टोली एसियाली खेलकुदमा समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार टोकाइ सिटिजन जिम्नेसियममा समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालविरुद्ध इरानले ७६–२३ को सहज जित निकाल्यो । दुवै हाफमा नेपालको प्रदर्शन खराब रह्यो ।
पहिलो हाफमा इरानले ४० अंक जोड्दा नेपालको खातामा मात्र सात अंक थियो । दोस्रो हाफमा इरानले ३६ र नेपालले १६ अंक जोडे । नेपालले रेड र ट्याकलबाट १५, बोनसबाट सात र सुपर ट्याकलबाट एक अंक जोड्यो ।
यसअघि नेपाल थाइल्यान्डसँग ५९–४८ तथा पाकिस्तानसँग ५८–४३ ले ले पराजित भएको थियो । अब,नेपालले बिहीबार समूह चरणको अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ ।
महिला कबड्डीतर्फ भने नेपालले विजयी सुरुआत गरेको छ । नेपालले मंगलबार सम्पन्न आफ्नो पहिलो खेलमा थाइल्यान्डविरुद्ध ४६–४३ को रोमाञ्चक जित निकालेको हो ।














