पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफमा अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ ।
पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्यस्थल भएको दाबी गरेका छन्। उनले पाकिस्तानले आफ्नो सार्वभौम अधिकार रक्षाका लागि ‘सटीक, नियन्त्रित र अनुपातिक’ कारबाही गरेको बताए।
तारारका अनुसार आक्रमण पाकिस्तानमाथि भएको भनिएको ड्रोन आक्रमणसँग सम्बन्धित पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र केन्द्रित थियो । पाकिस्तानले बुधबार अफगानिस्तानबाट आएका आठ ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको र ती सबैलाई खसालेको जनाएको थियो ।
अफगानिस्तानले भने पाकिस्तानी हवाई आक्रमणको विरोध गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कुनार र पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणबाट नागरिक हताहत भएको दाबी गरेका छन् ।
उनका अनुसार कुनारमा एक महिलासहित तीन सर्वसाधारणको मृत्यु भएको तथा चार जना घाइते भएका छन् । पक्तिकामा भने घर तथा स्थानीय पसलमा क्षति पुगेको उनले बताए ।
संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमए) का अनुसार अप्रिलदेखि जुन २०२६ सम्म सीमापार सशस्त्र हिंसाका घटनामा ३९९ सर्वसाधारण प्रभावित भएका छन् । तीमध्ये ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका छन् । प्रभावितमध्ये ४० महिला र ११२ बालबालिका रहेका छन् । युएनएएमएले हवाई आक्रमण र स्थल सैन्य गतिविधिलाई नागरिक प्रभावित हुनुका प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।
यसअघि जुन २८ मा पक्तिया, पक्तिका र कुनारमा भएका हवाई आक्रमणमा कम्तीमा २८ सर्वसाधारण मारिएको र ४९ जना घाइते भएको युएनएएमएले जनाएको थियो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले ती प्रान्तमा आफ्ना सुरक्षा बलले कारबाही गरेको पुष्टि गरेको थियो ।
सीमापार आतङ्कवादी गतिविधि, ड्रोन आक्रमण तथा सैन्य कारबाहीका विषयमा पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय तनाव बढ्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि सीमापार आक्रमण र आतङ्कवादी गतिविधिलाई संरक्षण दिएको आरोप लगाउँदै आएका छन् ।














