सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन् ।

रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी भएका थिए। सहभागीहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणाली भएका मुलुक भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताए। उनले आगामी पुस्ताका लागि समृद्धि र सुरक्षा प्रवर्द्धन गर्ने सम्बन्ध निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

सीले पनि दुवै देशका महत्त्वाकाङ्क्षी राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुनसक्ने बताए।

सीको भ्रमणका क्रममा ताइवान, व्यापार र कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयमा दुई नेताबीच छलफल भएको थियो। ट्रम्पले सीलाई मरीन वन राष्ट्रपतीय हेलिकप्टर र त्यसका लागि निर्माण गरिएको नयाँ हेलिप्याडसमेत देखाएका थिए।

रात्रिभोजका क्रममा ट्रम्पले ह्वाइट हाउसको दक्षिणी भागमा निर्माण भइरहेको नयाँ बलरुमबारे जानकारी दिँदै सहभागीहरूलाई निर्माणस्थल अवलोकन गर्न निम्तो दिए। उनले उक्त संरचनालाई बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’सँग तुलना गरे। यही भवनमा सीले गत मेमा ट्रम्पका लागि राजकीय रात्रिभोज आयोजना गरेका थिए ।

रात्रिभोजमा ओपनएआईका साम अल्टम्यान, एनभिडियाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला तथा स्पेसएक्सका एलन मस्क र गुगल तथा अल्फाबेटका सुन्दर पिचाईलगायत प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी थिए।

ट्रम्पले सीलाई आफू र प्रथम महिला मेलानिया ट्रम्पको सहकार्यमा तयार पारिएको चीलको मूर्ति उपहार दिएका थिए।

रात्रिभोजमा जङ्गली च्याउ र पहेँलो स्क्वास, तिलले छोपिएको समुद्री माछा तथा चेरी, ओखर र भेनिला क्रिमसहितको मिठाई प्रस्तुत गरिएको थियो।

ट्रम्पले बुधबार संयुक्त बेस एन्ड्र्युजमै पुगेर सी र उहाँकी श्रीमती पेङ लियुआनलाई स्वागत गरेका थिए ।

यसअघि गत मेमा बेइजिङ भ्रमणका क्रममा सीले ट्रम्पका लागि ‘ग्रेट हल अफ द पिपल’मा राजकीय रात्रिभोज आयोजना गरेका थिए।

 सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले सीलाई राजकीय भ्रमणमा स्वागत गर्ने तयारी गर्दा ट्रम्पले यस्तो भव्य स्वागतको आलोचना गर्दै सीलाई म्याकडोनाल्डमा लगेर वार्तामा फर्कनुपर्ने टिप्पणी गरेका थिए ।