कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ठूलो क्षति पुर्याएको छ। बाढीले करिब दुई दर्जन घर बगाएको वडाध्यक्ष हिरविकास जिसीले जानकारी दिएका छन्।
उनका अनुसार कालीगण्डकीमा बाढीको बहाव निरन्तर बढिरहेको छ। बाढी प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको भन्दै उनले क्षतिको यकिन विवरण अहिले नै भन्न सकिने अवस्था नरहेको बताए।
पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशकुमार पौडेलले पनि जलजला क्षेत्रमा कालीगण्डकीको बाढीले केही घर बगाएको जानकारी आएको बताए।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा प्रहरीको टोली परिचालन भइसकेको छ। उनले कालीगण्डकीमा अहिलेसम्मकै ठूलो बाढी आएको जानकारी प्राप्त भएको बताएका छन्।
बाढीको बहाव बढिरहेकाले जलजला क्षेत्रमा थप क्षति हुनसक्ने भन्दै स्थानीय प्रशासनले उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणको कामलाई प्राथमिकता दिएको छ।













