चाडवाडमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता

Image

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ ।

सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने बताए ।

बैठकमा सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताए । सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने उनको भनाइ छ ।

यातायात क्षेत्रमा हुने विचौलियाको बिगबिगी र जथाभावी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । साथै सवारीसाधनको प्रकार (नर्मल, डिलक्स, सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनको भनाइ छ ।

चाडपर्वको समयमा हुने एकतर्फी चापको व्यवस्थापनमा जोड दिँदै सो समयमा मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई उनले आग्रह गरे ।

“तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ,” सिटौलाले भने, “दसैँको समयमा यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ । बाटोको खाल्डाखुल्टी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।”

अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाडीहरूलाई अन्य प्रयोजनमा (रिजर्भ) नपठाउन पनि व्यवसायीहरूलाई निर्देशन दिइएको बताए । साथै लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढे पनि सरकारले नागरिकको हितका लागि घाटा सहेर भए पनि मूल्य स्थिर राख्नुपर्ने उनको तर्क छ ।