नेपाल राष्ट्र बैंकले आज (असोज १२) ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि एक महिनाका निम्ति राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । यही असोज ८ गते पनि राष्ट्र बैंकले एक महिनाकै निम्ति २० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरको थियो ।
आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज ०८३ कात्तिक ११ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका निम्ति निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबारअन्तर्गत निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर केन्द्रीय बैंकले पटक–पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको हो ।














