अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ ।
अमेरिकी यातायात मन्त्रीका अनुसार दुर्घटना पाम बीच काउन्टीको धनी आवासीय क्षेत्र क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको हो । यो स्थान राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा पर्छ ।
दुर्घटनास्थलका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको र त्यहाँ आगोको ज्वालासँगै लियरजेट ६० विमानका टुक्रा छरिएको देखिन्छ ।
अमरिकाको संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार उक्त विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा उपनगरीय आवासीय सडकमा गाडीहरू गुडिरहेका बेला विमान लगभग ठाडो रूपमा जमिनमा खसेर ठूलो आगोको गोलामा परिणत भएको देखिन्छ ।
फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनापछि आयोजित पत्रकार सम्मेलनमा दृश्य निकै भयावह रहेको बताए । विमानमा को–को सवार थिए भन्ने अझै स्पष्ट भएको छैन ।
दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्ति हताहत भएको विवरण प्राप्त नभएको गभर्नर डिसान्टिसले बताए ।
यातायात मन्त्री शोन डफीले घटनालाई भयावह त्रासदी भन्दै एफएएले राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)को अनुसन्धानमा सहयोग गर्न टोली दुर्घटनास्थल पठाउन लागेको जानकारी दिए ।















