राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री लामिछानेसँगको भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेका थिए ।
भेटवार्तामा लामिछानेले आफ्नो भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए । साथै, उनले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे ।
भेटवार्तामा लामिछाने र मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ । उनीहरूबीच दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।














