प्रदेश प्रमुखको कार्यकाल सकिएपछि कोशी नेतृत्वविहीन, नयाँ नियुक्ति र जिम्मेवारी तोक्ने निर्णय भएन

Image

परशुराम खापुङले पाँच वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा लिएसँगै कोशी प्रदेश प्रदेश प्रमुखविहीन बनेको छ । उनको कार्यकाल सकिए पनि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन भने अर्को प्रदेशका प्रदेश प्रमुखलाई समेत कामकाजको जिम्मेवारी तोकिएको छैन ।

प्रदेश प्रमुखको कार्यालय कोशीकी शाखा अधिकृत सम्पूर्ण थापाका अनुसार खापुङको कार्यकाल कात्तिक २३ गतेसम्म रहेको थियो । कार्यकाल समाप्त भएसँगै उनी पदबाट बिदा भएका हुन् ।

यसअघि कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त हुँदा छिमेकी प्रदेशका प्रमुखलाई समेत उक्त प्रदेशको कामकाज गर्ने जिम्मेवारी दिने अभ्यास थियो । तर, यसपटक कोशीका हकमा त्यस्तो निर्णयसमेत भएको छैन ।

शाखा अधिकृत थापाले खापुङको कार्यकाल सकिएपछि अर्को प्रदेशका प्रमुखलाई जिम्मेवारी दिने निर्णयबारे पनि जानकारी नआएको बताइन् । कार्यालय खुलेपछि यसबारे केही निर्णय हुन सक्ने उनको भनाइ छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि यस विषयमा तत्काल जानकारी नभएको बताए । बिदाका कारण औपचारिक जानकारी प्राप्त नभएको र कार्यालय खुलेपछि मात्रै यसबारे स्पष्ट हुने उनले बताएका छन् ।

नेपालको संविधानले प्रदेश प्रमुखको पद रिक्त भएमा नयाँ नियुक्ति नहुँदासम्म अर्को प्रदेशका प्रदेश प्रमुखलाई कामकाजको जिम्मेवारी दिन सक्ने व्यवस्था गरेको छ ।

संविधानको धारा १६३ को उपधारा (३) अनुसार प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुन्छ । त्यस्तै, धारा १६५ को उपधारा (१) को खण्ड (ख) अनुसार पदावधि समाप्त भएपछि प्रदेश प्रमुखको पद रिक्त हुन्छ ।

तर, धारा १६५ को उपधारा (२) ले कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएमा नयाँ नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई उक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था गरेको छ ।

यसअघि खापुङ विदेश भ्रमणमा जाँदा उनको अनुपस्थितिमा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिइएको थियो । २०८२ साउनमा उनी मलेसिया भ्रमणमा जाँदा तत्कालीन मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार दिइएको थियो । त्यसबेला राष्ट्रपतिको कार्यालयले औपचारिक निर्णय गरेको थियो ।

प्रदेश प्रमुखको जिम्मेवारी प्रदेशका महत्वपूर्ण संवैधानिक प्रक्रियासँग जोडिएको हुन्छ । संविधानको धारा १६६ अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान तथा अन्त्य, विधेयक प्रमाणीकरण र मुख्यमन्त्री नियुक्तिलगायतका संवैधानिक कार्यमा भूमिका निर्वाह गर्छन् ।

त्यस्तै, संविधानको धारा १६३ को उपधारा (१) ले प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ ।

खापुङ २०७८ कात्तिकमा कोशी प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । पाँच वर्षे कार्यकाल पूरा भएपछि उनी पदमुक्त भएका हुन् ।

अब नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा नियुक्ति नहुँदासम्म अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने भन्ने विषयमा राष्ट्रपतिको औपचारिक निर्णय आउन बाँकी छ ।