अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।
गिनीको उत्तरपूर्वी क्षेत्र सिगुइरी जिल्लामा बुधबार झडप भएको हो । सरकारी निर्णयअनुसार नोभेम्बर २ देखि अवैध सुन खानीमा प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।
घटनाको अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ । सरकारले प्रतिबन्ध लागू गरेपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई उक्त क्षेत्रबाट निष्कासन गरेको छ ।
कारबाहीपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय बासिन्दा त्यहाँ जानसमेत डराएको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार झडपपछि घटनास्थलमा शव देखिएका थिए भने केही पसलमा तोडफोडसमेत भएको थियो । घटनामा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षा बलको कडा उपस्थितिका कारण उपचारका लागि आवश्यक सहयोग पाउन कठिन भएको बताएका छन् ।
सरकारी कारबाहीपछि ठूलो सङ्ख्यामा मानिस छिमेकी मुलुक माली पुगेका छन् । माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ ।














