रारा जाने सडकमा पर्यटक सवार स्कारपियो दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते

Image

मुगुमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रारा ताल घुम्न जाँदै गरेका पर्यटक सवार बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ दुर्घटनामा परेको हो।

जिल्लाको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकको जिरो पोइन्टबाट करिब एक सय मिटर अगाडि साँझ ४ बजेतिर स्कोरपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला गाडीमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउने तयारी भइरहेको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।