इन्टरपोलको महासभालाई भूराजनीतिले असर गर्दैन : प्रहरी प्रमुख

Image

हङकङका प्रहरी प्रमुख जो चाउले सहरमा हुन लागेको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को आगामी महासभामा भूराजनीतिक तनावका कारण सहभागी राष्ट्रहरूको उपस्थितिमा असर नपर्ने बताएका छन्।

उनले अन्तरदेशीय प्रहरी सहकार्य अपरिहार्य रहेको पनि स्पष्ट पारेका छन्।

नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म हङकङमा आयोजना हुने महासभामा अमेरिका तथा युरोपेली मुलुकहरूले आफ्ना प्रतिनिधि पठाउलान् कि नपठाउलान् भन्ने प्रश्नको जवाफमा प्रमुुख चाउले यस्तो बताएका हुन्।

उनले भने, ‘भूराजनीति एउटा विषय हो भने प्रहरीबिचको सहकार्य अर्कै विषय हो। अन्ततः हरेक क्षेत्र र देशले आफ्ना नागरिकको हित सुनिश्चित गर्न चाहन्छन्। त्यसैले सीमापार सहकार्य अपरिहार्य छ।’

हङकङमा इन्टरपोलको ९४औँ महासभा आयोजना हुन लागेको हो। विश्वका विभिन्न देशका प्रहरी प्रमुख, वरिष्ठ सुरक्षा अधिकारी तथा सरकारी प्रतिनिधिहरू सहभागी हुने यो सम्मेलन अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र प्रहरीबिचको सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

यस पटकको महासभा विशेषगरी अन्तरदेशीय संगठित अपराध, वित्तीय अपराध, ठगी, अपराधबाट आर्जित सम्पत्ति पत्ता लगाउने प्रणाली तथा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगबाट उत्पन्न सुरक्षा चुनौतीमा केन्द्रित हुने बुझिएको छ।

इन्टरपोलको आधिकारिक विवरणअनुसार यस महासभामा यसका १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन्। हङकङले पहिलोपटक यस्तो महासभा आयोजना गर्न लागेको हो।

महासभा इन्टरपोलको उच्च निर्णयकारी निकाय हो। वर्षमा एकपटक हुने प्रचलन रहेको यस सभा सामान्यतया चार दिनसम्म चल्ने गर्दछ। बैठकमा सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुन्छन्। र, प्रत्येक सदस्य राष्ट्रको एक मत हुन्छ।