अमेरिकामा हवाई उडान अस्तव्यस्त, आइतबार पनि १० हजार बढी उडान प्रभावित

Image

अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै अमेरिकामा २ हजार ४०० उडान रद्द भएका छन् भने ८ हजार ८०० भन्दा बढी उडान ढिलाइ भएका छन् । अमेरिकी यातायातमन्त्री सीन डफीले हवाई उडानको अवस्था सामान्य हुन सोमबारसम्म लाग्न सक्ने बताएका छन् । प्राविधिक समस्याका कारण विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका नियमित बनाउन समय लाग्ने उनको भनाइ छ ।

यसअघि शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या आएपछि अमेरिकाबाट उडान भर्ने सबै विमानलाई उडान रोक्न निर्देशन दिएको थियो । स्थानीय समयअनुसार दिउँसो ३ बजेर ५४ मिनेटमा जारी गरिएको उक्त निर्देशन करिब साढे चार घण्टापछि हटाइएको थियो । त्यतिबेला आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए । केही विमानलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको थियो भने केहीले गन्तव्यसम्मको यात्रा जारी राखेका थिए ।

उडान रोकका कारण शुक्रबार मात्रै ८ हजार ५०० उडान ढिलाइ हुनुका साथै ८ हजार उडान रद्द भएको फ्लाइटअवेयरले जनाएको छ । शनिबार पनि ५ हजार ९०० भन्दा बढी उडान रद्द भएका थिए भने ७ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए । अमेरिकी यातायातमन्त्री डफीका अनुसार तामाको तारलाई फाइबर प्रविधिमा रूपान्तरण गर्ने क्रममा जडान गरिएको कम्प्युटर राउटरबाट गलत सिग्नल प्रवाह भएपछि समस्या उत्पन्न भएको हो । अर्कान्सासको एल डोराडोमा जडान गरिएको उक्त उपकरणले हवाई ट्राफिक नियन्त्रण नेटवर्कमा समस्या सिर्जना गरेको उनले बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई ट्राफिक नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न आवश्यक बजेट विनियोजन गर्न अमेरिकी संसद्लाई आग्रह गरेका छन् । उनले दशकौँ पुरानो प्रविधिमा आधारित प्रणालीलाई पूर्ण रूपमा सुधार गर्नुपर्ने भन्दै त्यसका लागि पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । विशेषज्ञहरूले पनि अमेरिकाको हवाई सञ्चार प्रणाली पुरानो प्रविधिमा निर्भर रहेको र लामो समयदेखि आधुनिकीकरण हुन नसकेको बताएका छन् । हवाई उडान नियन्त्रण प्रणालीको पूर्ण पुनर्संरचना नगरेसम्म यस्ता समस्या दोहोरिन सक्ने यातायातमन्त्री डफीको भनाइ छ ।

उडान प्रभावित हुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । कतिपय यात्रु विमानभित्रै घण्टौँसम्म बस्न बाध्य भएका थिए भने केही विमानस्थलमै रात बिताउन पुगेका थिए । यसको असर अमेरिका मात्र नभई बेलायत र युरोपबाट हुने अन्तर्राष्ट्रिय उडानमा समेत परेको छ ।