भारत, चीन र इजरायलका निम्ति नेपाली राजदूतले लिए शपथ

Image

राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका निम्ति नयाँ नेपाली राजदूत नियुक्त गरेका छन् । सोमबार (कात्तिक ३०) उनले भारत, चीन र इजरायलका निम्ति आवासीय राजदूत नियुक्त गरेका हुन् ।

भारतका निम्ति नियुक्त राजदूतमा डा. निश्चलनाथ पाण्डे छन् । चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका निम्ति नियुक्त नयाँ नेपाली राजदूतमा सुरेशकुमार कर्ण रहेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सोमबारै शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका कार्यालयले जनाएको छ ।

सरकारले यस वर्ष असोज पहिलो साता १३ देशमा राजदूत नियुक्तका निम्ति विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा दुईजनाको नाम अस्वीकृत गरिएको थियो । विवादमा तानिएपछि एकजनाले आफ्नो नाम फिर्ता लिएका थिए ।

संसदीय सुनुवाइबाट अनुमोदन भएका १० जनाको नामको एग्रिमो स्वीकृतिका निम्ति परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा पठाएको थियो । तीमध्ये भारत, चीन र इजरायलका निम्ति सिफारिस नेपाली राजदूतको एग्रिमो स्वीकृत भएर आएको थियो । त्यससँगै उनीहरूलाई नियुक्त र शपथ गराइएको हो ।