अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा रिजालसमेतविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो ।
सेवाग्राहीको सामान हुलाकमार्फत विदेश पठाउने क्रममा घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले रिजाललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगको अनुसन्धानका क्रममा रिजालसमेतले आफ्नो पद र ओहदाको दुरुपयोग गरी आपसी मिलेमतोमा सेवाग्राहीसँग विभिन्न बहाना बनाई बार्गेनिङ गरेको पाइएको छ । सामान विदेश पठाउनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले २० हजार रुपैयाँ बिगो कायम गरेको छ । सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
















