तेन्जिङ हिल्लारी विमानस्थल नजिकै लागेको आगो फेरि फैलिन थाल्यो

काठमाडौं । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो फेरि फैलिन सुरु भएको छ ।गएराति आफैँ नियन्त्रणमा आएको आगो हावाका कारण अहिले फेरि फैलिन सुरु भएको स्थानीयले बताएका छन् ।

तीव्र गतिको हावाको वेगका कारण स्थानीयवासी, प्रहरीसहित फायर फाइटिङ हेलिकप्टरले निभाउन नसकेको आगोे राति शीतका कारण आफैँ नियन्त्रणमा आएको थियो । तर हावा लाग्न सुरु भएसँगै नाकचुङ गाउँबाट पुनः आगो फैलिन सुरु भएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका(२ नाक्चुङमा रहेको हरियाली सामुदायिक वनमा आइतवार बेलुकादेखि सुरु भएको डढेलो शीतका कारण सोमवार राति आफैँ नियन्त्रणमा आएको थियो ।

आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमवार बिहान झण्डै १ घण्टा विमानस्थल नै बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायतका प्रजातिका बोटबिरुवाहरु नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।