पीएनजीविरुद्ध नेपालको संर्घषपूर्ण जित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको संर्घषपूर्ण जित हासिल गरेको छ । नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ८ विकेट खर्चिएर भेट्टायो ।

संयुक्त अरब इमिरेट्स यूएई०को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले दिएको दुई सय पाँच रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा आठ विकेट गुमाएर भेटायो । नेपालका लागि रोहित पौडेलले ५८ र आरिफ शेखले ५४ रन बनाए । यस्तै करण केसीले २९, आसिफ शेख १६, विनोद भण्डारी १२, दीपेन्द्रसिंह ऐरी र सोमपाल समान आठ, ज्ञानेन्द्र मल्ल चार र कुशल भुर्तेल एक रनमा आउट भए ।

नेपालले ४२ रनमा चार विकेट गुमाएको अवस्थामा रोहित पौडेल र आरिफ शेखले पाँचौँ विकेटका लागि एक सय दुई रनको साझेदारी गरे । योसँगै आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी बनेका छन् ।यसअघि टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।

पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे । नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए ।