राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनमा प्रहरी हस्तक्षेपपछि तितरबितर भएपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग थप गरिएको छ ।
४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिएको हो ।
‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’
अहिले राप्रपा अध्यक्ष लिङ्देनसहितको टोलीले नारासहित नगर परिक्रमा गर्दैछ । उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आम सभा गर्न समेत आह्वान गरेका छन् ।













