कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीले समर्थन गरेको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डा अनुसार एमालेलाई कर्णालीको नेतृत्व परेपछि माओवादी केन्द्रबाट निर्वाचित भएका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएर कँडेलका लागि बाटो खोलिदिएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र १३ र एकीकृत समाजवादी १ ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए ।