देशका धेरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यतिबेला (बिहीबार बिहान) कोशी प्रदेशमा आंशिक बदली छ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थानसहित बाँकी पहाडी भूभागका एक/दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति पनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।