गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका– १ पौदीको जङ्गलमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्योदय माध्यमिक विद्यालयको जग्गा समेत रहेको जङ्गलमा आगो निभाउनको लागि घर्ती आइतबार बिहान ११ः३० बजेको समयमा जङ्गलमा गएका थिए ।
सोही क्रममा तलबाट आएको आगोको मुस्लोमा परी घर्ती करिब डेढ सय मिटर तल लडेका थिए । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका घर्तीलाई थप उपचारको लागि तम्घास अस्पताल ल्याए पनि अस्पतालले मृत घोषणा गरेको छ ।
त्यस्तै, आगोमा परि सोही ठाउँका ५२ वर्षीय रेशम थापा घाइते भएका छन् । उनी भीरबाट ४० मिटर तल लडेका थिए । उनको टाउको र निधारमा चोट लागेको छ । उनको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।














