बुढीगंगा नगरपालिकामा पुनः मतदान हुनुपर्ने काँग्रेसको माग

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको माग गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत हालेको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

‘वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा एमालेका कार्यकर्ताहरूले काँग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई एमालेले चुनौती दिएको काँग्रेसको ठहर छ ।