हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। हप्तामा दुईदिन विदा दिने निर्णयले दुरगामी असर पार्ने भन्दै अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्य प्रसाद खतिवडा, त्रिलोक चन्द, दिपक खनाल र तेज कुमार लोहीले रिट दर्ता गरेका हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको रिटमा हप्तामा दुईदिन विदा दिने सरकारको निर्णय खारेजीको माग गरिएको छ । अध्ययनबिनै हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्रमा जटिलता देखिने निवेदकको दाबी छ ।
‘यति ठूलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा, सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दुरगामी असरलाई निचोरेर नहेरी, यसको विश्लेषणात्मक अध्ययन अनुसन्धानबिनै हचुवाको भरमा हप्तामा दुई दिन विदा घोषणा गरिएको अवस्था छ,’ रिटमा भनिएको छ।
रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ। सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।













