एसपीपी सम्झौताबारे अमेरिकी दूतावासले भन्याे- कुनै पनि देशलाई सामेल हुन दबाब छैन

अमेरिकाको नेपालस्थित दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे मुख खोलेको छ । मंगलबार साँझ एक वक्तव्य जारी गर्दै दूतावासले अनलाइन सञ्चारमाध्यममा नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्दै आएको दस्तावेज असत्य भएको जनाएको हो ।

दूतावासले नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई एसपीपीमा सामेल हुन नभन्ने तर, त्यसका लागि माग आएको खण्डमा भने सम्बोधन गर्ने उल्लेख गरेको छ । ‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य हो’ अमेरिकी दूतावासले भनेको छ, ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राम(एसपीपी)मा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।’

एसपीपी अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम रहेकाे भन्दै दूतावासले भनेकाे छ- ‘अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।’

दूतावासले साढे दुई दशकदेखि कायम रहेको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश भएको जनाएको छ ।