काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । आइतबार सन्दीपविरुद्ध नोटिस जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
सदस्य राष्ट्रका प्रहरी सङ्गठनहरूको आग्रहमा इन्टरपोलले रेड, एल्लो जस्ता नोटिस जारी गर्दै आएको छ । क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैकामा रहेका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता छन् ।
सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्तीकरणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।
भदौ २३ मा उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट सङ्घले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए ।















