देशभित्र उत्पादन वृद्धि गर्नुको विकल्प छैन : जनार्दन शर्मा

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि देशभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् ।

मङ्गलवार काठमाण्डौमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजारमात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताए ।

मन्त्री शर्माले नेपाली उत्पादनमा वृद्धि गरी विदेशमा निर्यात बढाउनका लागि बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढाउन आवश्यक भएको बताए । उत्पादनमूलक उद्योगमा दिने एक करोड रुपैयाँसम्मको कर्जाको सीमा बढाउनुपर्ने उहाँको भनाइ छ ।

उनले भने , ‘सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग छ । आयात प्रतिस्थापनका उत्पादन वृद्धि गर्नुको अर्को विकल्प छैन । कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई एकस्तरको प्रशोधन गर्न सक्ने खालका साना उद्योगमार्फत आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा पनि नेपालको वस्तु निर्यात गर्न सक्ने अवस्था सिर्जना गर्नका लागि बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन क्षेत्रमा गर्नुपर्छ । उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम संशोधन गर्नुपर्नेछ । प्रारम्भिक एक करोड रुपैयाँ भनिएको छ, त्यसले पुग्दैन, त्यो नीतिलाई पनि संशोधन गर्नुपर्नेछ ।’

मन्त्री शर्माले औद्योगिक क्षेत्रमा लगानीको अभावका कारण धराशायी हुने अवस्था आएको भन्दै उद्योगलाई सरकारले संरक्षण गर्ने विश्वास व्यक्त गरे । उनले लगानी अभावमा धराशायी हुने अवस्थामा पुगेका औद्योगिक क्षेत्रलाई सरकारले बचाउन नसके देशको आर्थिक विकास र समृद्धि सम्भव नहुने उनले दाबी गरे ।