नयाँ सांसदलाई राप्रपाका पशुपति शमशेरले शपथ खुवाउने

काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।

प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।

यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म वि। सं १९९८ वैशाख २५ गते काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।

निर्वाचन आयोगमा उम्मेदवारले पठाएको व्यक्तिगत विवरण अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि ८१ वर्ष पुगेका छन् । उनको जन्ममिति वि सं। १९९८ माघ २० गते रहेको आयोगको विवरणमा छ ।