महाधिवेशनका सन्दर्भमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुनेछ । यी दुवै प्रतिकूलताका बीच आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस रहेको छ ।

भदौमा जुनसुकै हालतमा महाधिवेशन गर्नेगरि कार्यतालिकामा हेरफेर गर्ने तयारीमा देउवा लागेका छन् । वर्तमान कार्यतालिका अनुसार असार ५ बाट वडा अधिवेसन गर्नुपर्ने वाध्यता कांग्रेसलाई छ ।

तर महाधिवेसन मेरुदण्ड क्रियाशील सदस्यताको विवादलाई पार्टीले टुंगोमा पु-याउन सकेको छैन भने सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन ।

सहमहामन्त्री डा. महतका अनुसार बैठकमा भदौ ७ देखि १० सम्म केन्द्रीय महाधिवेसन सक्ने गरि कार्यतालिका हेरफेरमा प्रारम्भिक सहमती जुटाउने र त्यसलाई केन्द्रीय कार्यसमिति बैठक डाकेर अनुमोदन गराउने तयारी सभापति देउवाको छ ।

यस्तै बैठकमा दलिय गठबन्धनको उपलब्धिको समीक्षा तथा समग्र राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने बताइएको छ ।