मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्ण बहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो ।
थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ ।
दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को३६प ५९७९ नम्बरको मोटरसाइकलका कृष्ण बहादुरले चलाएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दिशातर्फ आउँदै थापाका दाजुभाई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिँदा बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९प९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ः३० बजेतिर मृत्यु भएको हो । दुर्घटनापछि टिपरसहित त्यसका चालक फरार छन् । टिपरको नम्बर पनि खुलेको छैन ।