सप्तरीमा आँप बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २२ जना घाइते

सप्तरीमा आँप बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरहाको लाहान नगरपालिका-१९ घर भएका ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल रामको मृत्यु भएको हो ।

कञ्चनपुर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डुन्डीराज न्यौपानेले जानकारी दिए ।

हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ जाँदै गरेको अवस्थामा ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएको हो । ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको न्यौपानेले बताए ।

घाइतेमध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ उपचाररतमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

घाइतेमध्ये सामान्य अवस्थाका ८ जना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । दुई जना घाइतेको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

दुर्घटनामा ट्याक्टर चालक सप्तरीकै कञ्चनपुर १२ का अकबर मियाँ पनि घाइते भएका छन् ।