एमालेका यी २२ सांसद जसले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।

आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् । त्यसमध्ये वरिष्ठ नेता माधव कुमार नेपालनिकट १० सांसद तटस्थ बसेका छन् ।

केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले देउवालाई विश्वासको मत दिएका छन् । त्यस्तै तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । देउवाको विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको छ ।