प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री देउवाले सोमबार बिहान काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको खोप केन्द्रको अनुगमन गरेका थिए। उनले त्यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई खोप हस्तान्तरण गर्दै खोप अभियानको सुरूआत गरेका हुन्।
सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । काठमाडौँ जिल्लामा आजबाट ६ गतेसम्म यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप एक मात्रा लगाए पुग्छ ।
पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।