ओली–नेपाल रणनीति ‘पर्ख र हेर’

आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन् । दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ । नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै प्रतिक्रिया दिएको छैन । ओली पक्षले नेपाल समूह पार्टीबाट बाहिरिँदा कति असर पर्न सक्छ भनी समीक्षा गरिरहेको छ ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टीका प्रदेश अध्यक्षले नेपाल पक्ष बाहिरिँदा पर्न सक्ने घाटानाफाबारे रिपोर्टिङ गरेको स्रोतले बतायो । बैठकमा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी एकताको विकल्प नभएको बताएका थिए ।

नेपाल पक्षबाट पनि एकताका पक्षमा निरन्तर आवाज उठाउने नेताहरू रहेकाले यस विषयमा ओली आफैंले सहजीकरण गर्नुपर्ने स्थायी कमिटी सदस्य गुरुङको धारणा थियो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश अध्यक्षबाट पार्टी संगठनको अवस्थाबारे जानकारी लिने काम भएको बताए । १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय भएको उनले जानकारी दिए । सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो  । उनीहरूले स्पष्टीकरणको जवाफ नदिए पनि कारबाही गर्ने विषयमा कुनै निर्णय भएको छैन । बैठकमा सकेसम्म पार्टी एकता कायम गरेर जानुपर्ने आवाज उठेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।