बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा आधा समय गर्ने भएका छन् ।
बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेका अनुसार पहिला एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् । बिहीबार गठबन्धनका दलहरुबीच ३ बुँदे सहमति भएको र त्यसमा बजेट, मन्त्रिपरिषद गठन र राजनीतिक नियुक्ति सहमतिका आधारमा गर्ने उल्लेख गरिएको उनले बताइन् ।
एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो । मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएको छ । अब उक्त प्रस्तावमा कात्तिक १० गते मतदान हुनेछ । २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट गठन भएको बागमती प्रदेशसभाको कार्यकाल अब एक वर्ष र केही महिना बाँकी छ ।













