केपी ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो, साँच्चै होइन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटबारे सत्तारुढ दल नेकपा एमालेले असन्तुष्टि व्यक्त गरेको कुरा वास्तविक नभएको दाबी गरेका छन् ।

सोमबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताए ।

‘विरोध जस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन । यो जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा आउने र्‍युमर (अफवाह)हरूमा सत्यता छैन,’ उनले भने । उनले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।

गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष ०८१८२ को विनियोजित बजेटलाई लिएर सत्तारुढ दलभित्रै तीव्र असन्तुष्टि देखिएको छ । एमालेसहित रास्वपा र एकीकृत समाजवादीले त सार्वजनिक रुपमा नै आलोचना गरिरहेका छन् भने माओवादीमा पनि बजेटलाई लिएर असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ ।

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन् ।

‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’