रामबहादुर बम्जनलाई बाल यौन दुराचार मुद्धामा १० वर्ष कैद

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडाैंकाे बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।