दाङमा बबई नदीले बगाउँदा बेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा बुधबार बिहान बेपत्ता भएकी १९ वर्षीया सम्झना चौधरी दिउँसो मृत फेला परेकी हुन् ।
खोजी गर्दै जाने क्रममा बगेको ठाउँदेखि झन्डै २० किलोमिटर दक्षिणमा सम्झनाको शव फेला परेको हो । उनी काममा गएका श्रीमान् मंगलबार राति नफर्केपछि खोजी गर्न भन्दै घरबाट निस्केकी थिइन् । सात महिनाकी गर्भवती समेत रहेकी सम्झना बबई नदी पारी रहेकी श्रीमानकी फुपूको घर जाँदै गर्दा नदीमा बगेको स्थानीयले बताएका छन् ।
नदीले बगाएर बेपत्ता भएकी चौधरीको शव दिउँसो १ बजेतिर दंगीशरण गाउँपालिकाको बैबाङ पुल नजिकै फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।