काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले लगातार तेस्रो जित निकालेको छ ।
बिहीबार भएको पहिलो खेलमा पोखरा एर्भेन्जर्सलाई ७ विकेटले पाखा लगाउँदै जनकपुरले ह्याट्रिक जित दर्ता गरेको हो ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो । दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो । पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे। उनले २० बलमा ५ छक्का प्रहार गरे। क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए ।
ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे । उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे ।
टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो। पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन् ।
ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके । न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्ने उनी पाँचौ ओभरको अन्तिम बलमा जिमी निमशको बलमा क्याच भए ।
अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे । अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेको अवस्थामा ललित राजवंशीले आउट गरे ।
कप्तान कुशल भुर्तेल दोस्रो खेलमा पनि चल्न सकेनन् । उनी ६ रनमा स्टमपिन भए । दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे ।
मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । १९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि रेमन्ड राइफरले २० बलमा १७ रन जोडे ।
अन्तिम ओभरमा आउट भएका स्कटिस अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडे । अन्तिम ओभरको सुरुवाती तीन बल डट खेलेपछि उनलाई किशोर महतोले आसिफ शेखबाट क्याच गराए ।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए । जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए ।
















